Get Update
काठमाडौं: नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघ (डब्ल्यूकेकेओ नेपाल)ले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले लागु गरेको लकडाउनमा नेपालमा पनि दैनिक ज्यालादारी मजदुरी गरेर जीवन यापन गर्ने परिवारका कराँते खेलाडीहरुलाई संघले खाद्यान्न सामाग्रीको प्याकेज सहयोग गरेको छ ।
संघले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, नेप्लिज फ़ेशन होम, समय शान्दर्भिकको सहकार्यमा लकडाउनका कारण पिडित खेलाडीहरुलाई सहयोग कार्यक्रम ल्याएको नेपाल क्योकिशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठले जानकारी दिए ।
शिहान श्रेष्ठ नेपालको फुलकन्ट्याक्ट कराँतेको क्षेत्रमा नेपालकै पहिलो अन्तराष्ट्रिय ६ डान प्राप्त ब्ल्याक बेल्ट हुन् । उनलाई हालै अन्तर्राष्ट्रिय कराँते महासंघ, स्विट्ज़रल्ण्डद्वारा “सिनियर मास्टर अफ द ईयर २०१९” को गोल्ड अवार्डबाट सम्मानित गरिएको थियो । उनले भने- “हाम्रो खेलकुदको मुख्य उद्देश्य भनेको राम्रो खेलाडीहरुको उत्पादन गरेर देशको नामलाई अन्तर्राष्ट्रियमा उच्च राख्नु हो । त्यसको बावजूद पनि असल तथा सामाजिक उत्तरदायित्व प्रति ज़िम्मेवार कराँते खेलाडीहरुको रुपमा समाजमा उनीहरुलाई स्थापित गर्नु पनि यस संघको लक्ष्य रहेको छ ।”
यस संघले हाल लकडाउनबाट दैनिक जीवनयापन गर्न अप्ठ्यारोमा परेका खेलाडीहरुको परिवारलाई सहयोग कार्यक्रम काठमाडौं उपत्यका र निजकैको जिल्लामा मात्र गरिएको छ । अन्य कराँते संघहरु भन्दा भिन्न खालको क्रियाकलाप गर्दै आएको यो संघले आफु अन्तर्गतको डोजोका खेलाडीहरुलाई तिनीहरुको आर्थिक अवस्था हेरी निःशुल्क तालिम, नि:शुल्क बिद्यालय पोशाक, ब्याग तथा स्टेशनरीका सामाग्रीहरु बार्षिक रुपमा बितरण गर्दै आएको संघका उपाध्यक्ष हेमा मानन्धरले बताए । हालसम्म खाद्यान्न प्याकेज कार्यक्रमबाट ३ सय ७५ खेलाडीका परिवारहरुलाई उपलब्ध गराईएको छ ।
Published By: www.akhabarnepal.com